28 Dec 2025

06:43 PM

नारायणी नदीकिनारमा चौथो गैँडाकोट महोत्सवको तयारी तीव्र

The Kalika Online

28 Dec 2025

# News

गैँडाकोट । नारायणी नदीकिनारमा आयोजना हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ। गैँडाकोट नगरलाई उद्योग, व्यापार, पर्यटन र संस्कृतिसहितका सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले आगामी पौष २५ गतेदेखि माघ १० गतेसम्म महोत्सव आयोजना गरिँदैछ।

महोत्सवका लागि आवश्यक प्राविधिक तयारी, स्टल व्यवस्थापन, व्यावसायिक निमन्त्रणालगायतका काम तीव्र रूपमा भइरहेको महोत्सव संयोजक छविलाल कँडेलले जानकारी दिए।

संयोजक कँडेलका अनुसार महोत्सवमा करिब २५० वटा व्यावसायिक कक्ष रहनेछन्। दुई हप्तासम्म सञ्चालन हुने महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ। महोत्सवमा अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोबाइल तथा इलेक्ट्रोनिक्स, निर्माण सामग्री, हस्तकला, कृषि तथा जडीबुटी, पर्यटन, तयारी पोसाक, जुत्ता–चप्पलदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामग्री प्रदर्शन तथा बिक्रीमा राखिनेछन्।

गैडाकोटको महोत्सव तयारी तीब्र । आगामी पौष २५ गतेदेखि माघ १० गतेसम्म महोत्सव आयोजना गरिँदैछ। पाकिस्तान र बंगलादेशवाट पनि स्टलहरु रहने महासचिव तेज नारायण पाण्डेले जानकारी दिए ।

घरेलु साना, मझौला तथा ठूला उद्योगसँगै बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत विशेष सहभागिता रहने आयोजकले जनाएको छ। ‘महोत्सवले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, किराना, कृषि उत्पादन, हस्तकला तथा साना उद्यमको व्यापारमा प्रत्यक्ष वृद्धि गर्नेछ,’ संयोजक कँडेलले भने, ‘यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।’

उनका अनुसार गैँडाकोट क्षेत्रमा आयोजना हुने मेला–महोत्सवले नगरको समग्र आर्थिक अवस्थालाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस वर्ष महोत्सवलाई थप व्यवस्थित बनाउन चार भागमा विभाजन गरी सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान र खानपान क्षेत्रलाई छुट्टाछुट्टै रूपमा व्यवस्थापन गरिने प्रचार प्रसार समिति संयोजक सालीग्राम सापकोटाले जानकारी दिए ।  महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, फेसन शो, विद्यालय तथा विभिन्न कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यानमा साहसिक तथा मनोरञ्जनात्मक खेल, जलपरी र माछाका एक्वेरियमजस्ता आकर्षण रहनेछन्। प्रवेशद्वारलाई कलात्मक शैलीमा निर्माण गरिने र सुरक्षाका लागि सुरक्षाकर्मीसँगै महोत्सव परिसर सिसिटिभी निगरानीमा राखिने व्यवस्था मिलाइएको छ।

उपभोक्ता र उत्पादकलाई प्रत्यक्ष रूपमा एकै स्थानमा भेट गराउने उद्देश्यसहित आयोजना हुने महोत्सवले औद्योगिक तथा व्यापारिक गतिविधिको केन्द्रका रूपमा गैँडाकोटलाई थप विकसित गर्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ। नयाँ प्रविधि, लगानी र उत्पादनसम्बन्धी जानकारी आदानप्रदानमा पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

गण्डकी प्रदेशको सामाजिक, प्राकृतिक, सांस्कृतिक तथा आर्थिक विविधताको प्रवेशद्वार मानिने गैँडाकोट पछिल्लो समय तीव्र औद्योगीकरण, पर्यटन वृद्धि र व्यापारिक गतिविधिका कारण प्रदेशकै आकर्षक नगरका रूपमा उदाउँदै गएको छ। नारायणी नदीकिनारको सुन्दर परिवेशमा आयोजना हुने महोत्सवले धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि सकारात्मक प्रभाव पार्ने आयोजकको दाबी छ ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .